बम विस्फोट गराउने दुईजना थुना पठाइए

सप्तरी, १४ असार । नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ ।सो अभियोगमा पक्राउ परेका सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिएका छन् ।राजविराज–छिन्नमस्ता सडकखण्डमा चेकजाँचका क्रममा अन टेस्ट मोटरसाइकल चढेर जाँदै गरेका शर्मालाई प्रहरीको विशेष टोलीले जेठ १३ गते हतियार र जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चासहित पक्राउ गरेको थियो भने नसिरलाई मेड इन इन्डिया लेखिएको एक थान पेस्तोल र सोमा प्रयोग हुने दुई राउन्ड गोली तथा पाँचसय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको थियो ।राजविराज नपा–८ स्थित नापी कार्यालयमा गत वैशाख २९ गते उनीहरुले प्रेसरकुकर बम विस्फोट गराएको प्रहरीको भनाइ छ ।

बझाङमा कांग्रेस–एमालेबीच झडप, उम्मेदवार घाइते

बझाङ, असार १४ । अशक्त मतदातालाई भोट हाल्न दिने विषयमा कांग्रेस र एमालेबीच झडप भएको छ ।बझाङको जयपृथ्वीबहादुर नगरपालिकाको वडा नं. ३ पुणेतमा भएको झडपमा एकजना उम्मेदवार घाइते भएका छन् ।जिल्ला प्रमुख अधिकारी केशव बहादुर थापाका अनुसार, मतदान केन्द्र बाहिर अशक्त मतदातालाई मतदान गर्न दिने या नदिने विषयमा दुबै दलका समर्थकबीच हानाहान भएको हो ।अहिले स्थिति नियन्त्रणमा लिइएको र थप सुरक्षाकर्मी समेत पठाइएको थापाले बताए ।

करिब एक लाख ६४ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौँ, असार १४ गते । दोस्रो चरणअन्तर्गत असार १४ गते बुधबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको पनि उहाँले बताउनुभयो । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि चार हजार ५८१ मतदान स्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा भित्री घेरमा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी खटाइनेछ ।

रोल्पा नगरपालिका–१० मा मतपेटिकामैं आगलागी

रोल्पा, असार १४ । बम विष्फोटले मतदानमा कुनै प्रभाव नपरेपछि निर्वाचन बहिस्कार गर्ने समूहले मतपेटिका नै जलाएका छन् ।रोल्पा जिल्लाको रोल्पा नगरपालिका– १० मा रहेको भनभने मतदान केन्द्रमा मतपत्रबाटै आगो उठेको खबर छ। विप्लव समूहका कार्यकर्ताले भोट हाल्ने बहानामा मत पेटिकाभित्र ज्वलनशील पदार्थ पठाएको अनुमान सुरक्षाकर्मीले गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान

sher bdr deuba

डडेल्धुरा, असार १४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आज बिहान ८ः०७ बजे प्रधानमन्त्री देउवाले सो केन्द्रबाट मतदान गर्नुभएको हो । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभयो ।मतदानपछि प्रधानमन्त्री देउवाले सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताउनुभयो । स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।प्रधानमन्त्री देउवाले मतदान गर्नुभएको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ ।

Read more: प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान