डा. गोविन्द केसीको समर्थनमा देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा बन्द

२०७४, २७ श्रावण शुक्रबार काठमाडौंं– सरकारी चिकित्सक संघ (गोदान) ले अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा बन्द गरेको छ ।संघले बिहीबार आकस्मिक बैठक बसेर शुक्रबारदेखि सम्पूर्ण सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । संघले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाएका छन् ।संघले चिकित्सकहरुलाई अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर बिरामी हेर्न आग्रह गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरे पनि डा. केसीका माग पूरा गर्न उदासीनता देखाएको संघले आरोप लगाएको छ ।संघको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।