‘संविधान कार्यान्वयनमा एकजुट हुनुपर्छ’

mohan bdr basnet

साउन २७ गते ।  सामुदायिक वनको उद्गम स्थल सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाको ठोकर्पामा बिहीबार विशेष कार्यक्रम आयोजना गरी राष्ट्रिय सामुदायिक वन दिवस मनाइयो ।  ठोकर्पा २०३० साल फागुनदेखि नै सामुदायिक वन विकासको सुरुवात गरेर सुख्खा डाँडालाई हरियाली वनाउने प्रयास थालिएको थियो ।   ठोकर्पाको सामुदायिक वन विश्वको पहिलो अभियान नारासहित मनाइएको उक्त समारोहको उद्घाटन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गर्नुभयो ।  सो अवसरमा उहाँले सामुदायिक वनको क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको ठोकर्पामा वन विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूको पहिलो केन्द्र बनाउन विशिष्ट प्रकृतिको अध्ययन केन्द्र बनाउनुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘त्यस्तो अध्ययन केन्द्र बनाउन सके देश विदेशबाट वन विज्ञान पढ्न विद्यार्थीका साथै पर्यटक भित्र्याएर यस क्षेत्रको विकास गर्न सकिन्छ । ’

मन्त्री बस्नेतले सिन्धुपाल्चोकको जनताको भावनासँग सहकार्य गरेर नै यसको विकासमा आफूले विशेष ध्यान दिने बताउनुभयो ।  उहाँले सुनकोसीमा सडक विकासका लागि बजेट विनियोजन भइसकेको र ५० शैयाको अस्पताल निर्माणको प्रक्रिया पनि अगाडि बढाइएको बताउनुभयो ।  उहाँले वन जङ्गल प्रशस्त हुँदा पनि खानेपानीको अधिक समस्या भोगिरहेका ठोकर्पावासीको समस्या समाधान गर्न पनि आफूले पूर्ण प्रयास गर्ने आश्वासन दिँदै भन्नुभयो, ‘पानी कहाँबाट ल्याउने हो मूल खोज्नुस् आर्थिक स्रोतको व्यवस्था म गर्छु । ’ मन्त्री बस्नेतले भूकम्पका कारण सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोक जिल्लाका विद्यालयहरूमा निःशुल्क इन्टरनेट सुविधा पु¥याउन पनि लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  मन्त्री बस्नेतले अहिले संविधान कार्यान्वयनको चरणमा स्थानीय निकायको दुई चरणको निर्वाचन भइसकेको र तेस्रो चरणको नर्वाचनपछि प्रदेश र सङ्घको निर्वाचन पनि तोकिएको समयमै गरेर मुलुक समृद्धितिर लैजानुपर्ने धारणा राख्नुभयो ।  उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन र राष्ट्र विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुको विकल्प छैन । ’ सो अवसरमा उहाँले ठोकर्पाको सामुदायिक वनको विकासका अभियन्ता निलमणि भण्डारी, वन संरक्षकहरू तथा सञ्चारकर्मीहरूलाई सम्मान गर्नुभएको थियो ।  ठेकर्पावासीले मन्त्री बस्नेतले सिन्धुपाल्चोकका विकास र समृद्धिका लागि गर्नुभएको कामको प्रशंसा गर्दा उहाँलाई सम्मान गरेका थिए ।  कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवण जीसीले सुनकोसी गाउँपालिकामा रहेको १४ वटै सामुदायिक वनको स्वामित्व गाउँपालिकाले लिने र वनको कसरी विकास गर्ने मात्र नभई वनबाट कसरी आम्दानी बढाएर स्थानीयको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने नमुना पनि ठोकर्पालाई बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष नेत्र कार्कीले पहिलो पहिचानलाई जोगाउँदै त्यसको विकास र विस्तारको स्वामित्व गाउँपालिकाले लिने बताउनुभयो ।  उक्त वनबाट कार्बनको व्यापार गर्नेतर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो ।  कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अर्जुन पौडेलले यहाँको वन पैदावारले भूकम्पपीडितका लागि आवश्यक काठ उपलब्ध गराउने अवस्था नरहेकाले भूकम्पपीडितका लागि उचित काठको प्रबन्ध गरिदिन सरकारसँग आग्रह गर्नुभयो ।  उहाँले स्थानीय विद्यालयलाई समेत सहभागी गराएका वन नसरी र वन विकासको कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  त्यस्तै वडा नम्बर ४ का अध्यक्ष देवेन्द्र खड्काले सामुदायिक वनको विकासले यस क्षेत्रका वासिन्दामा पु¥याएको प्रतिफलको चर्चा गर्दै यसको संरक्षण र निरन्तरताको खाँचो औँल्याउनुभयो ।