रासस पत्रकारिता पुरस्कार लोहनी र न्यौपानेलाई

काठमाडौँ, फागुन ५ गते । नेपाल पत्रकार महासङ्घ, रासस शाखाले यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार’ राससका कार्यकारी सम्पादक विकास लोहनी र वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रधान सम्पादक राजु शाक्य संयोजक रहनुभएको पाँच सदस्यीय पुरस्कार छनौट समितिको सिफारिसका आधारमा शाखाले लोहनी र न्यौपानेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

 

राससको वार्षिकोत्सवको अवसर पारेर शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारको राशि जनही रु १० हजार र सम्मानपत्र रहेको छ । सम्पादक लोहनीलाई दुई दशकभन्दा बढी समयदेखि पर्यटनसम्बन्धी समाचार सङ्कलन र सम्पादन कार्यमा सक्रिय रही राससको समाचार सेवामा उल्लेखनीय येगदान पु¥याउनु भएकोमा कदरस्वरुप उक्त पुरस्कार प्रदान गरिएको हो ।

वरिष्ठ समाचारदाता न्यौपानेले दुई दशकभन्दा बढी समयदेखि संसदीय मामिला, सुरक्षा र राजनीति विषयमा समाचार सङ्कलन गरी राससको समाचार सेवामा महत्वपूर्ण योगदान पु¥याएबापत कदरस्वरुप सो पुरस्कार प्रदान गरिएको शाखाले जनाएको छ ।

राससको ५६ औँ वार्षिकोत्सवको अवसरमा शाखाले यस वर्ष पूर्वकर्मचारीमध्येबाट पूर्वमहाप्रबन्धक कमल प्रधानलाई सम्मान गर्ने निर्णय गरेको छ । रासस दाङ कार्यालयकी प्रमुख नारायणी रजौरेको सहयोगमा शाखाद्वारा स्थापित रु पाँच हजार राशिको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि रजौरे’ पुरस्कार पाल्पाकी समाचारदाता सुशीला रेग्मीलाई प्रदान गर्ने निर्णय पनि भएको छ ।

पुरस्कार छनौट समितिमा वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाल, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, शाखाका अध्यक्ष विष्णुप्रसाद नेपाल र अङ्ग्रेजी समाचार सम्पादन शाखाका सहसम्पादक पवित्रा गुरागाईं रहनुभएको थियो ।