नेपालको संविधान विश्वकै नमुना : डा. महत

काठमाडौँ, फागुन ४ गते ।  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको नयाँ संविधान समावेशी प्रजातन्त्रको विश्वकै नमुना भएको बताउनुभएको छ ।  
बेल्जियमस्थित नेपाली दूतावास र युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजद्वारा मङ्गलबार ब्रसेल्समा आयोजित ‘नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक रूपान्तरण’ विषयक अन्तरक्रियामा मन्त्री डा. महतले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको सङ्घर्षको परिणामस्वरूप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत निर्माण गरेको संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताउनुभयो ।

 
राज्यका नीतिहरूमा समाजमा पछि परेका महिला तथा समुदाय, दलित समुदाय, आदिवासी जनजाति, मधेसी, थारू तथा अल्पसङ्ख्यकको हित प्रवद्र्धनको व्यवस्था गरिएको र यस्ता समुदायको आधिकारको रक्षा गरी उनीहरूको उत्थानका लागि अलग्गै संवैधानिक आयोगहरू पनि गठन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
“हाल नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश र संसद्को सभामुखमा महिला रहनुभएको छ ।  नेपालको इतिहासमा राज्यका यी महŒवपूर्ण निकायमा यसरी महिलाको नेतृत्व प्राप्त भएको यो पहिलो घटना हो ।  त्यस्तै नेपालको इतिहासमा यो अवधिमा देशका नीतिनिर्माण लगायतका विभिन्न तहमा महिलाको प्रतिनिधित्वमा वृद्धि भइरहेको छ”, मन्त्री डा. महतले भन्नुभयो ।    
मन्त्री डा. महतले नेपालको संविधान समावेशी र उत्कृष्ट हँुदाहुँदै पनि यसप्रति देखा परिरहेका असन्तुष्टिको सम्बोधन सरकारले गर्ने बताउनुभयो ।  यी असन्तुष्टिहरूलाई पनि यथोचित रूपमा सम्बोधन गरी आगामी निर्वाचनमा जाने तयारी सरकारले गरेको जानकारी उहाँले दिनुभयो ।  
यसैबीच परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेल्जियमका उपप्रधानमन्त्री तथा विदेशमन्त्री डिडियर रेयन्डर्ससँग भेटवार्ता गर्नुभएको छ ।  बेल्जियमस्थित नेपाली दूतावासका अनुसार मङ्गलबार उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।  भेटमा परराष्ट्रमन्त्री डा. महतले नेपाल–बेल्जियमबीचको द्विपक्षीय हितका साथै विकास सहयोग, व्यापार, लगानी र पर्यटन क्षेत्रको विकास लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो भेटमा नेपाली भ्रमण टोलीसँगै बेल्जियमस्थित नेपाली राजदूत लोकबहादुर थापाको समेत सहभागिता थियो ।  
परराष्ट्रमन्त्री महत फागुन ६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।