बेलायतको म्यानचेष्टरमा शक्तिशाली बम विष्फोट, १९ को मृत्यु, दर्जनौं घाइते

लण्डन, जेठ ९ । बेलायतको म्यानचेष्टरमा शक्तिशाली विष्फोट भएको छ । विष्फोटमा परी  कम्तिमा १९ जनाको मृत्यु भएको छ ।बिबिसीका अनुसार, ब्रिटेनको म्यानचेष्टर शहरमा एउटा पप साङगितिक कन्सर्ट भइरहेको स्थानमा संदिग्ध आतंकवादीहरुले गराएको हुनसक्ने ठानिएको बम बिस्फोटनमा कैयौं मानिसहरु मारिएको प्रहरीले जनाएको छ।म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो।म्यानचेष्टरको प्रहरीले कम्तीमा १९ जनाको मृत्यु भएको र झण्डै ५० जना घाइते भएको पुष्टी गरेको छ।उक्त घटनालाई आतंकवादी हमलाको रुपमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।एक जना प्रत्यक्षदर्शीले उक्त विस्फोटनले आफुलाई कैयौं मिटर पर हुत्याइदिएको बताए।विस्फोटनका कारण भवनहरु हल्लिएका थिए र भग्नावशेषहरु हावामा उडिरहेको भन्दै ती प्रत्यक्षदर्शीले आफुले कैयौं मानिस भुईंमा ढलिरहेको देखेको र त्यसमध्ये केहीले ज्यान गुमाएको हुनसक्ने बताए।मध्ये म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सो क्षेत्रलाई घेराबन्दी गरिएको छ र नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध भएको छ।बीबीसीका गृह मामिला संवाददाता डेनियल स्यानफोर्ड भन्छन् लन्डनमा प्रति आतंकवाद हेर्ने उच्च अधिकारीहरु भेला भइरहेका छन् र उनीहरुले गृहमन्त्रालयसँग समन्वय गरिरहेको छन्।घटनास्थलमा रहेका बीबीसी संवाददाता टिम एशबर्नले बमको छर्रा लागेर घाइते भएका केही मानिसहरुको उपचारमा संलग्न स्वयमसेवकहरुसँग कुराकानी गरेका थिए। कैयौं प्रत्यक्षदर्शीहरुले विस्फोटन लगत्तै अन्योलपूर्ण परिस्थिति देखिएको जनाएका छन्।साङ्गीतिक कार्यक्रम हेर्न आएकी आफ्नी श्रीमती र छोरीलाई लिन गएका एण्डी होलीले भने, “म उनीहरुलाई कुरिरहेको थिएं र त्यसैबेलामा विस्फोटन भयो। म हुत्तिएर करिब ३० फिट परको अर्को ढोका नजिकै पुगें।”“त्यसपछि उठेर हेर्दा मैले भुईंमा शवहरु देखे, शुरुमा एरेना भित्र गएर मलाई आफ्नो परिवार खोज्न मन लाग्यो, जब मैले उनीहरुलाई भेटाउन सकिन तब म प्रहरीसँगै बाहिर निस्किएं र आफ्नी छोरी र श्रीमतीलाई खोज्दै केही शवहरु पनि हेरें।”“अन्तत: मैले उनीहरुलाई फेला पारे र उनीहरु सकुशल नै थिए,” उनले भने।

 

प्रधानमन्त्रीले आज दिऊँसो १ बजे बिशेष सम्बोधन गर्ने, राजिनामाको उच्च संभाबना

प्रधानमन्त्री प्रचण्डले आज व्यवस्थापिका संसदमा बिशेष सम्बोधन गर्ने भएका छन ।प्रधानमंत्रीले सरकारले गरेका उपलब्धि, स्थानीय चुनावको पहिलो चरणको सफलता, संबिधान समशोधनको प्रयास र भावी अवस्थाबारे धारणा राखने बुझीएको छ ।सम्बोधनसितै प्रधानमन्त्रीले गठबंधनको राजनीतिक मान्यताप्रति इमानदारिता प्रदर्शन गर्दै राजिनामा दिन सक्ने उच्च सम्भावना छ ।

सत्तरी वटा विद्यालयमा पुस्तकालय

इलाम, जेठ ९ गते । दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् । पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ । प्लस टु सञ्चालन भएका विद्यालयमा चालु आवमै पुस्तकालय सञ्चालन गर्ने गरी विद्यालयसँग सम्झौता गरेर काम थालिसकेको जिशिकाले जनाएको छ ।

किशोरी मृत्युको कारण थप रहस्य बन्दै

नवलपरासी, जेठ ९ गते । नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक स्रोतको दाबी छ तर त्यहाँका स्थानीयले रविनाको हत्या भएको दाबी गर्दै आएका छन् ।किशोरी अर्याल गत बुधबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शरीरको प्रकृति हेर्दा नाकबाट रगत बगेको, अनुहारमा चोट समेत देखिएकाले उनको आत्महत्या नभई उनका बाबु तुलसी अर्याल र सौतेनी आमाले हत्या गरेर झुन्ड्याएको आरोप स्थानीयले लगाएका छन् ।स्थानीय सो घटनाबारे प्रहरीसँग निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । निष्पक्ष छानबिन नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीयले दिएका छन् ।

काठमाडौँ महानगरमा एमालेकै अग्रता

काठमाडौँ, जेठ ९ गते । काठमाडौँ महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त गर्नुभएको छ ।