काठमाडौं जाँदै गरेका ११ जना पाकिस्तानीलाई सिन्धुली प्रहरीले सुनसरी फर्कायो, दुतावासले बोलाएर जान लागेको दावी
आइतबार, २८ बैशाख, २०७७ | सुनसरीबाट काठमाडौं जाँदै गरेका ११ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले सिन्धुलीको वीपी राजमार्गस्थित नेपालथोकबाट सुनसरी नै फर्काएको छ ।सुनसरीको क्वारेन्टाइनमा बस्दै आएका कोरोना नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएका पाकिस्तानीलाई पाकिस्तानी दुतावासले बोलाएपछि सुनसरी प्रशासनले काठमाडौं पठाएको थियो ।एकै साथ ११ जना पाकिस्तानी सवार रहेको माइक्रो बसलाई नेपाल प्रहरीको उच्च निकायको आदेशमा नेपालथोकबाट पुनः सुनसरी नै फर्काइएको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।पाकिस्तानीहरुलाई सार्वजनिक माइक्रो बसमा एक जना चालकले राजधानी काठमाडौं लैजाँदै गरेका थिए ।उक्त माइक्रो बस सिन्धुलीको वीपी राजमार्गस्थित चुरे वन, सिन्धुलीगढी र सुनकोसीगाउँ पालिकाको चैनपुर जस्ता सार्वजनिक स्थानमा रोकेर यात्रा गराएको जनाइएको छ ।