भारतले नेपाली भूमिमा १९ किलोमिटर सडक बनायोः परराष्ट्रमन्त्री ज्ञवाली

आइतबार, २८ बैशाख, २०७७ | परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि हुँदै १९ किलोमिटर सडक बनाएको जानकारी दिएका छन् ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिएका हुन् ।मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रारम्भिक जानकारी पाएसँगै यसबारेमा विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको पनि बताए ।मन्त्री ज्ञवालीले लिपुलेक हुँदै तिब्बत जोड्ने सडकको अवधारणा भारतले सन् १९९९ मा विकास गरेको जानकारी दिँदै सन् २००५ मा स्वीकृत गरेको र सडकमार्गको निर्माण भने सन् २००८ मा थालिएको जानकारी दिए ।सन् २०१४ मा नरेन्द्र मोदी सरकारको नेतृत्वमा आएपछि भारतले सडक निर्माणमा तीब्रता दिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।नेपाल–भारत सीमाको वैज्ञानिक आधार सन् १८१६ को सुगौली सन्धि नै भएको बताउँदै मन्त्री ज्ञवालीले विवादित विषय सुगौली सन्धिअनुसार नै समाधान हुनुपर्छ भन्नेमा नेपाल अडिग रहेको बताए ।भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि कोरोना भाइरसको संक्रमण रोकिएसँगै परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने उल्लेख गरेकाले कूटनीतिक तवरबाटै समस्या समाधान गरिने ज्ञवालीको भनाइ थियो ।१५ मे २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच लिपुलेक भएर चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडक निर्माण गर्ने र त्यसलाई दुई देशबीच व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको थियो ।मोदीकै चीन भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेको सहमतिमा पन लिपुलेकलाई भारत–चीनबीचको व्यापारिक नाकाका रूपमा विकास गर्ने उल्लेख थियो । यसबारेमा नेपालको परराष्ट्र मन्त्रालयले उक्त सम्झौताका विषयमा दुबै मुलुकलाई कूटनीतिक नोट लेखे पनि कुनै समाधान ननिस्कँदै भारतले सडक ट्रयाक नै उद्घाटन भएपछि विवाद सतहमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *