देश

पहिलो महिला सीईओको सङ्घर्ष : मेरो स्ट्रेन्थ नै मेरो टिम

कुनै समय थियो महिलालाई दोस्रो दर्जाको मानिन्थ्यो । आज उनीहरू पुरुषसँग बराबरीमा उभिइसकेका छन् । समाज र सोच परिवर्तन भएको छ, हरेक क्षेत्रमा महिलाहरू पनि समान हैसियतमा आफूलाई उभ्याउन सफल छन् । पदराष्ट्रपति, सभामुख, प्रधान न्यायाधीशजस्ता सर्वोच्च पदमा महिलाले नेतृत्व गरिसकेका छन् । हाल बैङ्क तथा वित्तीय क्षेत्रमा पनि महिलाहरू उच्च तहमा पुगेका छन् । सामान्यतः महिलाप्रतिको कमजोर सोचको उपज महिलालाई नेतृत्वमा जान नदिने प्रवृत्ति हो, जुन समाजमा अद्यपि हावी छ तर क्षमता देखाउने अवसर पाए असम्भव केही पनि छैन भन्ने तथ्य मेगा बैङ्ककी कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको सफलताले देखाउँछ ।

सानामा लाग्थ्यो, किन पढ्नु परेको होला ? पढ्न नपरे पनि कस्तो हुन्थ्यो ? पढ्नु त आमा बुबाको लागि हो जस्तो लाग्ने । स्कुलमा पनि कहाँ कहिले गेम होला र खेल्न जाने होला भन्दै दाउ खोज्ने थिइन् अनुपमा । स्कुल होस् कि घर कसरी खेल्न भाग्ने होला भन्ने उपाय नै खोजिरहन्थिन् उनी ।

पढाइमा भन्दा ज्यादा ध्यान उनको खेलकुदमा हुन्थ्यो । अझ फुटबल निकै मन पर्ने खेल । खेलाडी त बनिनन् तर अनुपमालाई समयले बैङ्कको यस्तो व्यावसायिक खेलाडी बनाइदियो, जसले आज उनलाई कमैले ताक्न सक्ने पदमा पुर्याइदिएको छ ।

खेलमा रुचि भएर नै होला खेलभित्रका नियम र अनुशासनले उनलाई व्यावसायिक जीवनमा पनि अनुशासित र मेहनती हुन उत्प्रेरित गर्यो । उनले जीवनमा सिकेको पाठ नै के हो भने नियमभित्र रहेर अनुशासित ढङ्गले काम गर्ने हो भने टपमा पुग्न कसैले रोक्न सक्दैन ।

 

Have your say