Breaking-News

रामविलास हत्याको विरोधमा आइतबार कांग्रेसले सर्लाही बन्द गर्ने

Please follow and like us:

जनकपुरधाम- नेपाली कांग्रेसले आफ्नो कार्यकर्ता हत्याको विरोधमा आइतबार सर्लाही बन्दको घोषणा गरेको छ।नेकपा कार्यकर्ताले गोली हानी आफ्नो कार्यकर्ता रामविलास महताको हत्या गरेको भन्दै सर्लाही कांग्रेसले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आमहडतालको घोषणा गरेको हो।शुक्रबार बसेको नेपाली कांग्रेस सर्लाहीको विस्तारित बैठकले शनिबार साँझ जिल्लाभरका सम्पूर्ण स्थानीय तहका सबै वडाहरुमा मशाल जुलुश प्रर्दशन र आइतबार आमहड्ताल गर्ने निर्णय गरेको सांसद अमरेशकुमार सिंहले जानकारी दिए।यसैगरी आमहड्तालकै क्रममा आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म पूर्वपश्चित राजमार्गको लालबन्दीमा एक घण्टा चक्का जाम गर्ने निर्णयसमेत भएको उनले बताए । उनले आन्दोलनका थप कार्यक्रमबारे आइतबार साँझ निर्णय गरिने जानकारी दिए।रामविलासमाथि गोली प्रहार गर्ने व्यक्तिको पहिचान भइसक्दा समेत प्रहरीले कुनै कारवाही गर्न नसकेपछि बाध्य भएर आमहड्तालको घोषणा गर्नुपरेको सांसद सिंहको भनाइ छ । घटनाको चारदिन बितिसके पनि सरकारको तर्फबाट अझै कुनै पहल नभएका उनको आरोप छ।कांग्रेसले मृतक रामविलासलाई सहिद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार र दोषीमाथि कारवाहीको माग अघि सारेको छ।गत मंगलबार बिहान नेकपा कार्यकर्तासँगको झडपमा गोली लागी रामविलास महतोको मृत्यु भएको थियो भने गोलीको छर्रा लागेर अन्य चारजना घाइते भएका छन्। सरकारले माग सम्बोधन नगरेको भन्दै कांग्रेसले रामविलासको शव बुझ्न मानेको छैन् । उनको शव अझै मलंगवा अस्पतालमा राखिएको छ।

Have your say