News

रेलमार्गको भारबहन क्षमता परीक्षण सफल

Please follow and like us:

काठमाडौँ, असोज २६ गते । सञ्चालनको तयारीमा रहेको जयनगर–जनकपुर रेलमार्गको भारबहन क्षमता परीक्षण सफल भएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले ब्रोडगेज उक्त रेलमार्गको बुधबार गरिएको भारबहन क्षमता परीक्षण सफल भएको जानकारी दिनुभयो । रेलमार्गको भारबहन क्षमता परीक्षणका लागि ५३ वटा मालबाहक डब्बासहित भारतीय रेल बुधबार जनकपुर आएको थियो । पाँच वर्षअघि जयनगर–जनकपुर रेलमार्ग ‘न्यारोगेज’ रेलमार्गको रुपमा सञ्चालनमा थियो ।
परीक्षणसँगै ब्रोडगेज रेल सेवा सञ्चालनका लागि निर्माण गरिएको उक्त रेलमार्गको लिकले भार थेग्न सक्छ भन्ने प्रमाणित भएको उहाँले स्पष्ट पार्नुभयो । परीक्षणसँगै मङ्सिरदेखि उक्त रेलमार्ग सञ्चालनमा आउने सुनिश्चित भएको छ ।
रेलले पाँच हजार टन ब्लास्ट (गिट्टी) बोकेर आएको थियो । रेलमार्गको भारबहन क्षमता परीक्षण तथा रेल्वे लिकलाई जाम गर्ने प्रयोजनका लागि समेत गिट्टी बोकेर भारतीय रेल जनकपुर आएको महानिर्देशक मिश्रले जानकारी दिनुभयो । ल्याइएको गिट्टी रेलमार्गमा विछ्याइएको छ ।
सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणको क्रममा जयनगर–जनकपुर रेलको स्तरोन्नति गरी सञ्चालन गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार नै जयनगर–जनकपुर हुँदै महोत्तरीको बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्न लागिएको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा अहिले भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३५ किलोमिटर रेलमार्ग निर्माण कार्य भइरहेको छ ।
भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल सेवा सञ्चालन गरिने योजना रहे पनि तत्काल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्ग निर्माण गरी भारत सरकारले नेपाललाई हस्तान्तरण गर्नेछ ।

Have your say