Breaking-News

विकास तथा प्रविधि समितिको बैठक: झा नियुक्तिको विवरण माग

Please follow and like us:

काठमाडौँ, असोज १९ गते । संसद्को विकास तथा प्रविधि समितिले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षमा पुनः नियुक्त दिगम्वर झाको नियुक्ति प्रक्रियाबारे १५ दिनभित्र समितिलाई जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले झालाई पुनः नियुक्त गर्नुपर्ने आधार र कारणसहितको विवरण पेस गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिको बैठकमा सदस्यहरुले झाको नियुक्ति प्रक्रियामा प्रश्न उठाएपछि समितिले निर्णयको विवरण माग गरेको हो । समितिको निर्णयमा भनिएको छ ‘‘दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भएको पुनर्नियुक्तिका सम्बन्धमा जनमानसमा विभिन्न प्रतिक्रियाहरू आइरहेको र सरोकारवाला पक्षहरू एवम् आम नागरिकहरुको चासोप्रति समितिको ध्यानाकर्षण भएकोले उक्त नियुक्ति सम्बन्धी प्रक्रिया, पुनर्नियुक्तिको आधार र कारणको यथार्थ विवरण समितिलाई १५ दिनभित्र उपलब्ध गराई दिन नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ ।’’
समितिको निर्देशन अघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयले गरेका नियुक्ति प्रक्रिया संविधान, कानुनको परिधिभित्र रहेर नै गरिएको बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो ‘नियुक्तिहरु लोकतान्त्रिक प्रक्रिया अनुसार नै भएको छ । संविधान, कानुन तथा नियम अनुसार भएको छ ।’
समितिमा सदस्यहरु यज्ञराज सुनुवार र जिपछिरिङ लामाले झाको नियुक्तिबारे प्रश्न गर्नुभएको थियो । सांसद् सुनुवारले झाको नियुक्ति जनचासोको विषय भएको भन्दै समितिले प्रक्रिया जान्न पाउनु पर्ने बताउनुभयो । यस्तै, लामाले एकै व्यक्ति कहिले अयोग्य हुने कहिले योग्य हुने कसरी भनी प्रश्न गर्नुभएको थियो ।
यस्तै, समितिले नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तरीय बनाउन व्यवस्थापकीय सुधार लगायतका प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको छ । स्थानीय तहमा बैंकिङ सेवा पु¥याउनका लागि इन्टरनेट अनिवार्य रहेको भन्दै समितिले सेवा विस्तार गर्न बाँकी स्थानीय तहमा अविलम्ब इन्टरनेट सेवा पु¥याउन निर्देशन दिएको छ । समितिले सामाजिक सञ्जाल प्रयोगमा विकृति समेत देखिएको भन्दै आवश्यक प्रभावकारी कार्ययोजना बनाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
‘सबै स्थानीय तहमा इन्टरनेट’
समितिमा मन्त्री बास्कोटाले चालु वर्षभित्र सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याइने बताउनुभयो । देशका ७५३ स्थानीय तहमध्ये अब ६९ वटामा मात्र इन्टरनेट सेवा पुग्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो सांसद्हरूले इन्टरनेट सेवा नहुँदा बैंक स्थापना नभएको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।
यस्तै, मन्त्री बाँस्कोटाले मोबाइल सेवालाई गुणस्तरीय बनाउनका लागि ७३८ टावर थप गर्ने प्रक्रिया जारी रहेको बताउनुभयो । पछिल्लो दुई तीन महिनाको अवधिमा २४० टावर जडान भइसकेको पनि उहाँले बताउनुभयो । सरकारले सामाजिक रूपमा मौलाएको विकृति न्युनीकरणका लागि १६ हजार अश्लील वेबसाइट बन्द गराएको उहाँले जानकारी दिनुभयो ।
उहाँले श्रमजीवी पत्रकारको वृत्ति विकास कोषमा तीन करोड रुपियाँ जम्मा भइसकेको र चाडै नै पाँच करोड पु¥याउने लक्ष्य रहेको बताउनुभयो । उपत्यकामा लागू भएको चलचित्रको बक्स अफिस प्रणाली माघदेखि उपत्यकाबाहिर पनि लागू हुने उहाँले बताउनुभयो । मन्त्री बास्कोटाले काभ्रेको आइटी पार्कमा सुरक्षित म्ुद्रण स्थापना गर्ने गरी सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।
समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले नेपाल टेलिभिजन तथा रेडियो नेपाललाई पव्लिक सर्भिस ब्रोडकास्टिङ’मा रुपान्तरण गर्ने गरी कानुन तर्जुमाको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो । सचिव गुरुङले तीन वर्षमा सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

Have your say