देश

राजपाको मुख्य कार्यसूची संविधान संशोधन- नेता महतो

नेपालगञ्ज, बाँके, असोज २ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुभयो ।
संविधानलाई समयानुकूल संशोधन नगरेका कारण संविधान दिवसलाई उत्सवको रुपमा मनाउने अवस्था नरहेको उहाँले बताउनुभयो । संविधान संशोधनका विषयमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै नेता महतोले वर्तमान सरकारमा सहभागिताभन्दा पनि राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गर्नुभयो ।
“सरकारलाई समर्थन गर्नु अपराध होइन दुई तिहाइको सरकारलाई अझ बलियो बनाउन हामीले समर्थन गरेका हौँ ।” महतोले भन्नुभयो, “साधु सन्त बन्न राजनीति गरेको होइन, सरकारले संविधान संशोधन, रेशम चौधरीको रिहाइ र राजनीतिक मुद्दा फिर्ता लिए सरकारमा जान कुनै समस्या छैन ।”
संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटकपटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उहाँले संविधान संशोधन आश्वासनका रुपमा नभई लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
Read More »

कागेश्वरीमा बिहानैदेखि लाखौँ भक्तजनको भीड

row

काठमाडौँ, असोज १ गते । प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ ।कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी महादेवको पूजा तथा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास छ । आज यहाँ लाग्ने मेलाको विशेष धार्मिक एवं सांस्कृतिक महत्व रहेको बताइन्छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसैबेलादेखि वर्षेनी यहाँ मेला लाग्दै आएको हो ।कागेअष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने र खेतबारीमा रोपिएका मकै पनि कागले नखाने धार्मिक मान्यता छ । उक्त मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीसमेत लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ ।सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ ।यस क्षेत्रबाट उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । यस अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेका छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थान प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न आजका दिन यहाँ धेरै धार्मिक पर्यटक आउने गरेको मेला व्यवस्थापन समिति संयोजक श्याम लामाले बताउनुभयो ।धामलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले २०० किलो अष्टधातुको कागको मूर्ति स्थापना गरिएको छ । यो मूर्ति संविधानसभा सदस्य रामेश्वर फुयाँलको पहलमा निर्माण भएको हो । कागको यो मूर्ति नेपालकै ठूलो मूर्ति हो ।अष्ट धातुका कवाड सङ्कलन गरी विश्वकै ठूलो कागको मूर्ति बनाउने अभियानसमेत शुरु भइसकेको उहाँले सुनाउनुभयो । यो मूर्ति एक हजार किलोको बन्नेछ । कागेश्वरी–सुन्दरीमाई–शिवपुरी–गोकर्णेश्वर–नवतनधाम र पशुपतिनाथलाई जोडेर अन्तर्राष्ट्रिय पशुपति परिपथ निर्माण गरिनुपर्ने प्रदेशसभा सदस्य फुयाँलले बताउनुभयोे ।

Read More »

पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक

logo_1

काठमाडौँ, असोज १ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताउनुभएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँग आइतबार छलफल गर्नुहुँदै ज्ञवालीले चालू आर्थिक वर्ष सम्ममा पुनःनिर्माणमा रु तीन खर्ब ३६ अर्ब खर्च हुने भएकाले आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको बताउनुभयो । प्राधिकरणले पुनःनिर्माणमा पहिलो वर्ष रु २२ अर्ब, दोस्रो वर्ष रु ४९ अर्ब र तेस्रो वर्ष रु एक खर्ब १४ अर्ब खर्च गरेको थियो । पुनःनिर्माणका लागि चालू आवमा रु एक खर्ब ५१ अर्ब विनियोजन गरिएको छ ।विसं २०७३ वैशाखमा तयार पारिएको विपद्पश्चात्को पुनः लाभ कार्य ढाँचामा पुनःनिर्माणका लागि रु नौ खर्ब ३८ अर्ब लाग्ने आँकलन गरिएको थियो । नेपालको पुनःनिर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुकसहित दातृ निकायले प्रतिबद्धता जनाएको कूल रु चार खर्ब १० अर्बमध्ये रु ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भई रु तीन खर्ब ४३ अर्ब बाँकी रहेकामा त्यसमध्ये रु दुई खर्ब ६२ अर्बको सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।पुनःनिर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम जुटाउन पहल गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनःनिर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकामा प्रशंसा गर्दै सो खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । छलफलमा एशिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ, प्राधिकरणका सहसचिव पीताम्बर घिमिरेसहित शाखा प्रमुख उपस्थित हुनुहुन्थ्यो ।

Read More »

विद्यालयको पुनःनिर्माण सुरु भएन

रसुवा, भदौ ३१ गते । ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण भत्केका रसुवाको नौकुण्ड गाउँपालिका–४ सरमथलीमा रहेको निर्कुभूमे माध्यमिक विद्यालयमा ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
झण्डै तीन घण्टाको पैदल बाटो हिँडेर विद्यार्थी विद्यालय पुग्छन् । भूकम्पले भत्किएको विद्यालय अझैसम्म निर्माण हुन नसक्दा अध्ययन अध्यापनमा समस्या देखिएको छ । भूकम्प अघि टाढाबाट आउने विद्यार्थीलाई बस्ने व्यवस्था थियो, प्रधानाध्यापक दिलबहादुर धितालले भन्नुभयो, “अहिले पढाउनका लागि कक्षाकोठा समेत पर्याप्त छैन् ।”४० जना विद्यार्थी करिव तीन घण्टाको बाटो हिँडेर विद्यालय आउनेगरेको उहाँले बताउनुभयो । लामो दिनमा त विद्यार्थीलाई विद्यालय आउन समस्या पर्दैन, तर छोटो दिनमा विद्यार्थीले झोलामा टर्च बोकेर पढ्न आउनु पर्छ उहाँले भन्नुभयो ।
हिउँद लागेपछि जाइका संस्थाले १२ कोठाको भवन निर्माण गरिदिने भएको उहाँले बताउनुभयो । वर्षाको कारण भवन निर्माण प्रक्रिया अघि बढ्न सकेन, उहाँले भन्नुभयो “सडक सुचारु भएपछि निर्माण सुरु हुनेछ ।”
नौकुण्ड गाउँपालिका–३ पारच्याङमा रहेको गौतमबुद्ध माविको भवन निर्माण अझै सुरु भएको छैन् । माध्यमिक तहको पढाइ हुने विद्यालयमा जम्मा पाँचवटा कोठा छ । बाँकी कोठा निर्माणको काम हुन नसकेको प्रधानाध्यापक धितालले बताउनुभयो ।
विद्यालय भवनको अभावमा घाम लाग्दा, पानी पर्दा अनि हावाहुरी चल्दा पठनपाठन अवरुद्ध हुने गरेको विद्यालयले जनाएको छ । “ठूलो हावाहुरी आयो भने भएको संरचना उडाएर लैजान्छ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेमाग्यावा तामाङले भन्नुभयो, “हामी भवन निर्माणका लागि दाता संस्था खोजिका छौं ।”
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था पनि त्यस्तै छ । विद्यालयमा ८ कक्षासम्म पढाइ हुन्छ । विद्यालयको तीनकोठे पक्की भवन छ । जसमा एउटामा कार्यालय र एउटामा पुस्तकालय छ । बाँकी एउटा कक्षामा पढाइ हुन्छ ।
‘विद्यालय निर्माण नगर्ने भए हामीले पहल गर्न सहज हुन्थ्यो, प्रधानाध्यापक फुर्पुदोर्जे घलेले भन्नुभयो, “निर्माण गर्ने भनेर ओगटेर राख्दा भवन निर्माण गर्न समस्या भइरहेको छ ।” भूकम्प गएको लामो समय भइसक्दा समेत जिल्लाका १५ वटा विद्यालयको निर्माण सुरु हुन सकेको छैन् ।
निर्माण हुन बाँकी रहेका विद्यालयहरुलाई आर्थिक वर्ष ०७५÷७६ मा भवन निर्माणका लागि आवेदन दिन सूचना जारी गरिएको छ । गाउँपालिकाले सिफारिस नगरेमा विद्यालय आफैँले प्रस्ताव दिन सक्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) प्रमुख सरदकुमार भण्डारीले बताउनुभयो । जिल्लामा अहिलेसम्म ३८ वटा विद्यालयको भवन निर्माण सम्पन्न भएको इकाइ प्रमुख बालकृष्ण सिंखडाले बताउनुभयो ।

Read More »

एकीकृत बस्ती विकासका लागि सहमति

काठमाडौंँ, भदौ ३१ गते । भूकम्पका कारण वस्ती नै जोखिममा परेका विभिन्न जिल्लाका २४ बस्तीले सुरक्षित स्थानमा एकीकृत वस्ती विकासको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निवेदन दिएका छन् ।
ती मध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १९ वस्तीका लागि प्रारम्भिक सहमति दिएको छ । पाँच वटा वस्तीको विस्तृत अध्ययन प्रतिवेदन समेत तयार पारेर प्राधिकरणलाई बुझाइएको छ । वस्ती विकासको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भएका वस्तीहरूमा दोलखाको भीमेश्वर र बोसिम्पा, सिन्धुपाल्चोकको जरायोटार र तेम्बाथाङ र गोरखाको मिलन वस्ती रहेको प्राधिकरणका जग्गा ब्यवस्थापन तथा भौगोलिक अध्ययन शाखा प्रमुख कमल घिमिरे बताउनुहुन्छ ।
भूकम्पका करण जोखिमको अवस्थामा रहेका ७० वस्ती स्थानान्तरण गर्नु पर्नेछ । प्राधिकरणले १५ परिवार वा त्योभन्दा बढी परिवार सम्मका लागि एकीकृत वस्ती विकास गर्दा बाटो, विजुली खानेपानी लगायतका पूर्वाधार विकासमा सहयोग गरिदिने जनाएको छ ।
त्यस्तै, बसोबास गर्दै आएको थाकथलो जोखिमयुक्त भएर सुरक्षित स्थानमा जग्गा खरिदको लागि दुई लाख रुपियाँ आर्थिक सहयोग पनि गर्दै आएको छ । यसरी दुई लाख रुपियाँ आर्थिक सहयोग लिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने लाभग्राहीको सङ्ख्या एक हजार दुई सय पुगेको शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
लाभग्राहीले स्थानान्तरण हुने जग्गा पाएपछि जग्गा प्राधिकरणले जग्गा विक्रेतालाई सोझै रकम हस्तान्तरण गर्ने हुँदा रकमको दुरुपयोग नभएको घिमिरेको दावी छ । जग्गा खरिदको लागि नेपालले अपनाएको यस्तो तरिका अन्य विपदमा परेका मुलुकले पनि अनुसरण गरिरहेको उहाँको भनाई छ ।
करीब ७० वस्तीलाई स्थानान्तरण गर्नुपर्ने देखिए पनि कतिपय स्थानमा नजिकै सुरक्षित जग्गाको उपलब्धता नभएका कारण कठिनाइ परेको उहाँले बताउनुभयो । कतिपय स्थानमा स्थानीय निकायका जनप्रतिनिधिहरुले आफ्नो वा आफन्तको जग्गा बेच्नुपर्दा बढी मूल्य कायम गरिदिने र खरिद गर्नुपर्दा अत्यन्तै न्यून मूल्याङ्कन गरिदिने प्रवृत्तिका कारण पनि भूकम्प पीडितलाई समस्या परेको प्राधिकरणका पदाधिकारीहरु बताउनुहुन्छ ।
गोरखाका केरौजामा ३४७ परिवारलाई स्थानान्तरण गर्नुपर्ने तर पायक पर्ने जग्गा नभएका कारण स्थानान्तरणमा समस्या भएको उहाँको भनाइ छ । शाखा प्रमुख घिमिरे स्थानान्तरण गर्नुपर्ने करीब चार हजार लाभग्राहीमध्ये ८० प्रतिशतको समस्या आगामी मङ्सिर भित्रमा समाधान हुने दावी गर्नुहुन्छ ।
यसबाहेक ११४ भूकम्प पीडितले सरकारको आशा नगरी आफै जग्गा खरिद गरेर स्थानान्तरण गरिसकेका छन् । उहाँहरूलाई जग्गा खरिदको रकम उपलब्ध गराउने नगराउने विषयमा प्राधिकरणले हाल कुनै निर्णय गरिसकेको छैन ।
त्यस्तै अनुदान पाएर पनि आफै घर बनाउन नसक्ने ज्येष्ठ नागरिक, एकल महिला, वालबालिका तथा अपाङ्गता भएको जोखिम वर्गका लागि कसरी घर बनाउने भन्ने निर्णय प्राधिकरणले गर्न सकेको छैन । त्यस्तो करीब १८ हजार लाभग्राही छन् । उहाँहरूका लागि विभिन्न गैरसरकारी सङ्घ संस्थाको खोजी भए पनि काम हुन सकिरहेको छैन ।

Read More »

लगानीका लागि पहल गर्न आग्रह

काठमाडौँ, भदौ २८ गते । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । चेम्बरको भवनमा बुधबार कार्यकाल सकिएर भियतनाम फर्कन लाग्नुभएका राजदूत टोन्ह सिन्ह थान्हलाई चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँगै नेपालमा लगानीको वातावरण बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“नेपालमा पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा लगानी बढाउन उपयुक्त छ।”अध्यक्ष शाक्यले फष्टाउँदो अर्थतन्त्रका रुपमा भियतनामले आर्थिक विकास तीव्ररूपले गरिरहेकाले नेपालको कृषि आधुनिकीकरणमा पनि उल्लेखनीय योगदान पु¥याउन सक्नेमा जोड दिनुभयो ।भियतनामका राजदूत थान्हले नेपालसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि भियतनाम तयार रहेको बताउनुभयो । उहाँले दुई देशबीच लगानी तथा पर्यटन प्रवद्र्धनका माध्यमबाट द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन आफूले सक्दो पहल गर्ने उल्लेख गर्नुभयो । राजदूत थान्ह आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएको हो ।

Read More »

बेनी बजार संरक्षणका लागि बनाइएको पर्खाल बाढीले भत्कायो

beni badhi

बेनी(म्याग्दी) भदौ २८ गते । बुधवार कालीगण्डकीमा आएको बाढीका कारण म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल कालीगण्डकीले भत्काएको छ । रघुगंगा र कालीगण्डकीमा आएको बाढीका कारण नदीमा पानीको सतह बढेपछि उद्योग वाणिज्य संघको भवन तलदेखि म्याग्दी जेसिज भवन सम्मको करिव डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल कालीगण्डकीले कटान गरेर पूर्णरुपमा क्षति पु¥याएको हो । गत आर्थिक वर्षमा निर्माण गरिएको पर्खाल भत्कीदा करिव पाँचकरोड रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । सदरमुकाम बेनीबजारलाई सुरक्षित गर्ने उद्देश्यले तिन वर्ष अघि बेनी बजार संरक्षण आयोजना सञ्चालन गरिएको थियो । आर्थिक वर्ष ०७५/०७६ मा निर्माण सक्ने गरि ५३ करोडको बजेट प्रस्ताव गरिएको थियो । आयोजना सम्पन्न नहुँदै निर्माण गरिएको पर्खाले नदीले भत्काएको छ । पर्खाल भत्किँदा बेनी बजार नदीको कटानको उच्च जोखिममा रहेको छ ।

Read More »

हरितालिका तीज पर्व मनाइँदै

teej

काठमाडौँ, भदौ २७ गते । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । teej pashupati

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।
“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने अध्यक्ष गौतमको भनाइ छ ।
व्रत बस्नेले आफ्नो क्षमतानुसार पानी, कन्दमूल (सखरखण्ड, पिँडालु आदि), फलफूल, दूध, हवनीय वस्तु, श्रोत्रीय ब्राह्मणले खान हुने चिज, गुरुको वचनानुसारका खानेकुरा र औषधि गरी आठ कुरा खान हुने शास्त्रीय मान्यता छ । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पनि गौतमले बताउनुभयो ।

Read More »

जिसस सञ्चालन गर्न ऐनको माग

काठमाडौं, भदौ २५ गते । जिल्ला समन्वय समिति महासंघ नेपालले जिल्ला समन्वय समिति सञ्चालन ऐन निर्माण गर्न माग गरेको छ । जिल्ला समन्वय समितिलाई संविधानले प्रदान गरेको स्थानीय तह, सङ्घीय सरकारका जिल्लाका विषयगत कार्यालयवीच समन्वय र सन्तुलित विकासका लागि अनुगमन कार्यलाई प्रभावकारी बनाउन ऐन निर्माण गर्न महासंघले सरकार समक्ष माग गरेको हो ।
शनिवार ७७ जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यको काठमाडौंमा आयोजित प्रथमः भेलामा जिल्ला समन्वय समिति सञ्चालन ऐन तत्काल जारी गर्न सरकार समक्ष माग गरिएको थियो । महासंघको उक्त भेलाले गरेको निर्णय सावर्जनिक गर्दै १२ बुँदे निर्णय प्रधानमन्त्रीलाई बुझाइएको छ ।
सरकारले जिल्ला समन्वय समितिमा १३ जना कर्मचारी रहने गरी दरबन्दी स्वीकृत गरेको तर केही जिल्लामा कर्मचारीको सङ्ख्या अपुग भएको गुनासो समितिले गरेको छ । महासंघले एउटा समन्वय समितिमा कम्तिमा पनि २२ जना कर्मचारी रहने गरी दरबन्दी स्वीकृत गर्न सरकार समक्ष माग गरेको छ ।
संविधानले समन्वय समितिलाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न हाल सरकारले प्रदान गरेको बजेट न्यून भएको गुनासो समेत महासंघको छ । महासंघल् आवश्यक स्रोत साधन र बजेटको व्यबस्था गर्न पनि माग गरेको छ ।
त्यसैगरी साविक जिल्ला विकास समितिको कोषलाई स्वतः जिल्ला समन्वय समितिको कोषमा रूपान्तरण गर्नुपर्ने माग समेत महासंघले गरेको छ । सन्तुलित विकासका लागि समितिलाई अनुगमन तथा क्षमता विकास गर्न पनि माग गरिएको छ । त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले रकम बाँडफाँड गर्दा जिल्ला समन्वय समितिलाई न्योचितरुपमा निश्चित प्रतिशत रकम उपलब्ध गराउनुपर्ने माग पनि महासंघले राखेको छ ।
महासंघका अध्यक्ष सीताकुमारी सुन्दासले सङ्घ तथा प्रदेश सरकारबाट सञ्चालन हुने विकास निर्माणका आयोजना समन्वय समितिमार्फत अनुगमन गराउन माग गर्नुभयो । त्यसरी अनुगमन हुँदा गुणस्तर वृद्धि हुने समेत उहाँले बताउनुभयो । समन्वय समितिको अनुगमनबाट प्राप्त सुझावलाई सम्बन्धित निकायले कार्यान्वन गर्नुपर्ने माग समेत महासंघले सरकारसँग राखेको छ ।
जिल्ला समन्वय समिति महासंघका प्रवक्ता नवराज गेलालले जिल्लामा रहेको विपत व्यवस्थापन समिति, खानी अनुगमन, जिल्ला जलस्रोत, भूकम्प पुनःनिर्माणलगायत समिति जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षतामा रहने गरी कानुनी व्यवस्था हुनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको एक वर्षपछि पनि जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यहरूको मर्यादाक्रम नतोकिएकाले तत्काल मर्यादाक्रम तोक्न उहाँले सरकार समक्ष माग गर्नुभयो ।
संविधानको धारा २२० मा जिल्ला समन्वय समितिले प्रदेश सरकारले तोकेका अन्य काम गर्ने भनी उल्लेख भएकाले जिल्ला समन्वय समितिलाई प्रदेश सरकारमार्फत आवश्यक काम तोकी स्रोतको समेत व्यवस्था गर्न सातवटै प्रदेश सरकारलाई महासंघले आग्रह गरेको छ ।
महासंघले संविधानले प्रदान गरेका कार्य सम्पादन गर्न र सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गर्न आवश्यक्ता अनुसार जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको भेला गरी आवश्यक निर्णण लिने जनाएको छ ।

Read More »

कुशे औँशी, पितृ सम्मान दिवस मनाइदैँ

kuse-aausiकाठमाडौँ, भदौ २४ गते । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो ।सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।

पितृसम्मान दिवस

यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ ।‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

Read More »
1 2 3 5